शुक्रबार, असोज ३, २०८२

‘परियोजना सञ्चालनपछि गाउँलेको व्यवहार बदलियो’

  
कर्णाली टाइम्स शुक्रबार, असोज ५, २०८०


सुर्खेत। कालीकोटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनद्वारा सञ्चालित ‘कोपिला’ परियोजनाको समयावधि सकिन थालेको छ। कालीकोटको शुभकालिका गाउँपालिकाका १–४ नम्बर वडासम्म लागु गरिएको परियोजनाको कार्यान्वयन अवधि सन् २०२३ अक्टोबरदेखि सकिँदैछ।
अन्तिम समयमा परियोजनाबारे समिक्षा गरिएको छ। बिहिबारदेखि आयोजित दुई दिने समिक्षा गोष्ठीमा परियोजना सञ्चालनको अनुभव, कार्यान्वयनको अवस्था, उपलब्धी जस्ता विषयमा छलफल गरिएको छ। परियोजना सञ्चालनका क्रममा कार्यरत सामाजिक परिचालकहरुले आ–आफ्ना अनुभव सुनाए।
बालबालिकामाथि अभिभावकबाट हुने हिंसा, उनीहरुको विद्यालय शिक्षा, महिला हिंसा, स्वास्थ्य, सामाजिक एवम् पारिवारिक सद्भाव लगायतका विषय समेटेर परियोजना सञ्चालन भएका वडाहरुमा कक्षा सञ्चालन गरिएको थियो। सन् २०२२ देखि २०२३ सम्म शुभकालिकाका चार वटा वडाका ५०० घरधुरीलाई समेट्ने परियोजनाको लक्ष्य थियो।
परियोजनाअन्तर्गत पहिलो बर्ष १४ वटा दोस्रो बर्ष २२ वटा कक्षा सञ्चालन गरिएको सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईले बताए। उनका अनुसार भौतिक रुपमा सञ्चालन गरिएका कक्षाहरुलाई कार्यक्रमका रुपमा स्थानीय एफएम रेडियोबाट पनि प्रसारण गरिएको थियो।
कोपिला परियोजना गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) मार्फत् कार्यान्वयनमा ल्याईएको थियो। कार्यक्रम अवधिमा गरेको क्रियाकलापका प्रभावकारिता तथा मूल्याङ्कनका लागि सामाजिक परिचालकहरुले पुनः घरभेट गरी मुल्याङ्कन गर्ने गरेका थिए।
गर्भवती महिलालाई अपनाउनुपर्ने सावधानी, गर्भावस्थामा प्रयोग गर्नुपर्ने आईरन तथा क्याल्सियम, जन्मान्तर, हिंसारहित अभिभावकत्व लगायतका विषयमा पनि परियोजनाले सचेतना कक्षा सञ्चालन गरिरहेको थियो। यस्तै बालबालिकालाई घरमा बस्दा खेल्ने खेलौना पनि पनि परियोजनामार्फत दिईएको भट्टराईले बताए।
शुभकालिका–२ का सामाजिक परिचालक सिंह सुनारले खेलौना प्रदान गरेपछि बालबालिकाको व्यवहारमा परिवर्तन आएको बताए। ‘पहिले धुलो र माटोमा खेलेर फोहोर देखिने बालबालिका खेलौना पाएपछि सफा पायौं, ढिके नुन प्रयोग गर्ने परिवारले आयोडिन नुन प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘आईभीआर प्रविधि (मोवाईलमा सचेतना सन्देश पठाउने) पनि प्रभावकारी देखिएको छ।’
छोरी मात्र जन्मिए भनेर हिंसा गर्ने परिवारले पनि आफ्नो व्यवहार बदलेको उनले बताए। ‘कार्यक्रम सुरु हुनुअघि त छोरी जन्मियो भनेर सासुले हेप्ने, बच्चाको हेरचाह गर्न वास्ता नगर्ने सासुहरु थिए, हामीले कक्षा सञ्चालन गरेपछि उनीहरु आफैं हेरचाहमा लागेको पायौं।’
वडा नम्बर २ मा हिंसारहित अभिभावकत्वका बारेमा सडक नाटक पनि सञ्चालन गरिएको उनले बताए। उक्त सडक नाटकबाट हिंसारहित घरमा स्वस्थ बच्चा जन्मिन्छ भन्ने सन्देश दिएको सामाजिक परिचालक सुनारले दावी गरे।
शुभकालिका–३ का सामाजिक परिचालक सविता शाहीले बालवालिकालाई कुटपिट गर्ने अभिभावकले आफ्नो व्यवहार परिवर्तन गरेको बताईन्।
सुरुसुरुमा परियोजनाअन्तर्ग कक्षा सञ्चालन गर्दा समावेशी सहभागिता गराउन कठिन भएको वडा नम्बर ४ का सामािजक परिचालक निर्मला कुमारी अधिकारीले बताईन्।