
सुर्खेत। कर्णालीटाईम्सका प्रधान सम्पादक रमेश शाही प्रेस काउन्सिल नेपालद्वारा पुरस्कृत भएका छन्। काउन्सिलले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरेका विभिन्न विधाहरुमध्ये प्रधान सम्पादक शाहीले क्रियाशिल पत्रकारिता पुरस्कार पाएका हुन्।
विगत २२ बर्षदेखि पत्रकारिता गरिरहेका शाहीले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरेका थिए। उनले २०६० को दशकमा सुर्खेतमै बिहानी साप्ताहिक सञ्चालन गरेका थिए।
काउन्सिलले शनिबार शितल निवासमा एक कार्यक्रम आयोजना गरी देशभरका छनोट भएको पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो।
यस्तै काउन्सिसले प्रदान गरेको सावेशी पत्रकारिता पुरस्कारबाट साझा विसौनी दैनिकका संवाददाता रजनी योगी पुरस्कृत भएकी छन्। यस्तै कर्णाली प्रदेशबाटै राजु लामिछाने, विनोदकुमार मल्ल र विजय रावतले युवा पत्रकारिता पुरस्कार पाएका छन्।

५४ औं वार्षिकोत्सवका अवसरमा काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई प्रदान गरेको छ। शर्मा १ लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार पाउने पहिलो महिला पत्रकार हसन्। गत बर्ष यो पुरस्कार हरिबहादुर थापालाई प्रदान गरिएको थियो।
यस्तै १ लाख १० हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई प्रदान गरिएको छ।
विगत बर्षहरुमा जस्तै यो बर्ष पनि प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार तथा सञ्चारमाध्यमहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।
यो बर्ष १६ जना पत्रकारहरुलाई सम्मान गरिएको छ। यस्तै ५८ जना पत्रकारहरुलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।
