सुर्खेत। नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन भोलिदेखि सुरु हुँदै छ। अधिवेशनका सबै तयारी पूरा भईसकेको छ। एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे गर्नेछन्।
अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रुपमा सहभागी हुने अध्यक्ष शाहले जानकारी दिए। अधिवेशनलाई प्रदेश कमिटीले ठूलो अवसरका रुपमा लिएको उनले बताए।
कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहनेछन्। अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्ये १९५ जना महिला छन्। यसभित्र समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।
पार्टी सदस्यको आधारमा छनोट गरिएका १० जिल्लाका ५५४ जना प्रतिनिधि रहेको प्रदेश कमिटीले जनाएको छ। सुर्खेतबाट एक सय १२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालीकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३ र रुकुम पश्चिमबाट २३ जना प्रतिनिधि छनोट भएका छन्।
असोज ११ अधिवेशन सकिने छ। अधिवेशनले पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्ने अध्यक्ष शाहले बताए।
अधिवेशनको उद्घाटन सत्रमा करिब ५ हजार जनाले अवलोकन गर्ने प्रदेश कमिटीले जनाएको छ।
कर्णाली टाइम्स
मंगलबार, असोज ९, २०८०