सोमवार, असोज २०, २०८२

नवराज विक हत्याकाण्डको अन्तिम सुनुवाइ सकियो, २३ जनाले गरे बहस

  
कर्णाली टाइम्स मंगलबार, मंसिर १९, २०८०


सुर्खेत। ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। आइतबारदेखि सुरु भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।
जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासमा तीन दिनसम्म भएको सुनुवाइमा २३ जना वकिलहरुले बहस गरेका छन्। रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का अनुसार सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले पीडिततर्फबाट बहस गरेका छन् भने ५ जना निजी वकिलहरुले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका छन्।
अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए। तीमध्ये एक जना वकिलले बहस गरेनन्। २४ मध्य १७ जना वादीतर्फका र ७ जना प्रतिवादीतर्फका वकिल थिए।
बहस सकिएपनि फैसला कहिले आउने भन्ने टुंगोचाहिँ लागिसकेको छैन।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकालाई भगाउन जाँदा गाउँलेहरुले लखेटेरे हत्या गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। नवराजकी प्रेमिकासहित २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।