सुर्खेत। जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरु भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।
जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी-८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा, दाजु र भाइ रहेका छन्।
यस्तै, नवराजकी प्रेमिका र उनकी आमालाई जातीय विभेदसम्बन्धि मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरुलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) ले जनाएको छ।
तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरुले बहस गरेका थिए। सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका छन्। ५ जना निजी वकिलहरुले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका थिए।
सच्याइएको*