सुर्खेत। युरोपेल संघअन्तगर्तको युरोपियन नागरिक सुरक्षा तथा मानवीय सहायता कार्य (इको) ले भूकम्प प्रभावितहरुका लागि अस्थायी बसोबास व्यवस्थापन गर्न सेभ द चिल्ड्रेनलाई टेन्ट प्रदान गरेको छ। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रमका बीच इकोले ८ सय वटा टेन्ट सेभ द चिल्ड्रेनलाई प्रदान गरेको हो।
नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले उक्त टेन्टहरु सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेकी हुन्। २३ वर्गमिटर क्षेत्रफल ढाक्ने टेन्टहरु अग्नि प्रतिरोधक रहेको संस्थाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा ती टेन्टहरु जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गरिनेछ।
कात्तिक १७ गतेको भुइँचालोबाट प्रभावितहरुलाई टेन्टलगायतका सामग्री सहयोग गर्न पाउँदा खुशी महसुश गरेको राजदूत लोरेन्जोले बताइन्। अहिलेको यो सहयोगले भूकम्प प्रभावित क्षेत्रका महिला, शिशु तथा जेष्ठ नागरिकहरुको जीवन रक्षा गर्न मद्दत पुग्ने उनले बताइन्।
भूकम्पबाट विशेषगरी बालबालिका, गर्भवती, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति प्रभावित भएकोले त्यस्ता व्यक्तिको तत्काल अस्थायी आवाससहितको सुरक्षाका लागि युरोपेली संघको यो सहयोग महत्वपूर्ण रहेको सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले बताए।
कर्णाली टाइम्स
बुधबार, मंसिर २७, २०८०