सुर्खेत। गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशले बृहत नागरिक सम्मेलन गर्न लागेको छ। महासंघको छैटौं साधारण सभाका अवसरमा शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा बृहत नागरिक सम्मेलन गर्न थालेको हो।
भोलिबाट सुरु हुने नागरिक सम्मेलनमा विभिन्न विषयमा बैचारिक बहस गरिनेछ। महासंघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज घनश्याम केसीका अनुसार बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले साधारण सभा तथा नागरिक सम्मेलनको उद्घाटन गर्नेछन्।
पहिलो दिन (शुक्रबार) सामाजिक संघसंस्थाका सवाल र नागरिक स्वतन्त्रता, जलवायु परिवर्तन र विपद व्यवस्थापन, कर्णालीमा बाल अधिकारको अवस्था र नागरिक सशक्तिकरण, विपद व्यवस्थापन र क्षतिपूर्तिको उचित सम्बोधनका सवाल, बालअधिकार र नीतिगत सवाल, सामाजिक उद्यम राष्ट्रिय गौरव, स्थानीय र प्रदेश सरकारसँग सामाजिक क्षेत्रको सहकार्य जस्ता विषयमा छलफल गरिनेछ।
शनिबार महासंघको बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमार्फत कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ। शनिबार नै नागरिक सम्मेलनमा उठेका सवाललाई समावेश गरी कर्णाली घोषणा पत्र जारी गरिने केसीले जानकारी दिए।
कर्णाली प्रदेशको छैटौं अधिवेशन तथा नागरिक सम्मेलनमा प्रदेशका १० जिल्लाका ४ सय ४४ संस्थाको प्रतिनिधित्व रहने जनाईएको छ।
कर्णाली टाइम्स
बिहीबार, मंसिर २८, २०८०