सुर्खेत। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई अग्निप्रतिरोधक टेन्ट वितरण गरिएको छ। सोमबार भूकम्प प्रभावित जिल्लाका विशेष खालका आठ सय टेन्टहरु हस्तान्तरण गरिएको हो। भूकम्प प्रभावित समुदायका लागि भनेर युरोपेली संघले दिएका विशेष टेन्टहरु सेभ द चिल्ड्रेनले सोमबार हस्तान्तरण गरेको हो।
सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भूकम्प प्रभावित जिल्लाको भ्रमणका क्रममा ती टेन्टहरु हस्तान्तरण गरेका हुन्। टेन्ट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आचार्यले भूकम्प प्रभावित समुदायहरुको संरक्षण, सुरक्षा र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘महिला बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावितहरुसम्म यथाशिघ्र राहत तथा अन्य सहयोग पु¥याउन सरकारले विभिन्न विकास साझेदार संस्थाहरुसँग सहकार्य पनि गरिरहेको छ,’ उनले भने, ‘प्रभावित समुदायलाई सहयोग गर्न आपसी सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ।’
टेन्ट हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले विपदको बोलामा समुदायको जीवन रक्षा गर्न सरकार, विकास साझेदार र स्थानीय तहको समन्वयबाट मात्र सम्भव हुने बताईन्। उनले वितरण गरिएको टेन्टहरुबाट अत्याधिक जाडोका कारण समस्या भोगिरहेको प्रभावितहरुलाई राहत मिल्ने अपेक्षा गरिएको बताइन्।
भूकम्प प्रभावितहरुले भोगिरहेको जाडोको समस्यालाई मध्यनजर गर्दै युरोपेली संघले मंसिर २२ गते सेभ द चिल्ड्रेनलाई वितरणका लागि टेन्टहरु हस्तान्तरण गरेको थियो। अहिले वितरण गरिएको आठ सय वटा टेन्टहरु विशेष तवरले निर्मित अन्तिप्रतिरोधी, बर्षाबाट सुरक्षित र चुल्होसहितका छन्।
कर्णाली टाइम्स
सोमवार, पुस ९, २०८०