सोमवार, जेष्ठ ६, २०८२

नगरपालिकाले डोजर चलाएपछि सामान सारे सार्वजनिक स्थानमा बसेका व्यवसायीले

  
कर्णाली टाइम्स बुधबार, फागुन ३०, २०८०


सुर्खेत। सार्वजनिक स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले आफ्ना सामान र संरचना सार्न थालेका छन्। नगरपालिकाले अन्तिम पटक भन्दै जारी गरेको सूचनाको म्याद सकिँदासम्म पनि अटेरी गरिरहेका व्यवसायीहरुले बुधबारदेखि सामान सार्न सुरु गरेका हुन्।
वीरेन्द्रनगर नगरपालिकाले अन्तिम पटक जारी गरिएको सार्वजनिक सूचनाको म्याद गुज्रिएको ७ दिनपछि बुधबार नै जबर्जस्त डोजर चलाएर संरचना भत्काउन थालेको थियो। डोजरले भत्काउन थालेपछि व्यवसायीले डोजरलाई फिर्ता गराएर आफैंले सामान सार्न थालेका हुन्।
घण्टाघर लाईनमा संरचना भत्काउन पुगेको डोजरमाथि व्यवसायीका तर्फबाट ढुंगामुढा समेत भएको छ। घटनामा डोजर चालकसहित नगरका केही कर्मचारी सामान्य घाईते भएका छन्।


वीरेन्द्रनगर नगरपालिकाले उपत्यका नगर विकास समिति मातहत रहेको सार्वजनिक जग्गामा बसेका व्यवसायीहरुलाई जग्गा खाली गर्न गएको असारमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। त्यसबेला व्यवसायीहरुले जग्गा खाली गरेका थिएनन्।
दोस्रो पटक गत माघमा पनि यस्तै सूचना जारी गरेको थियो। यो सूचनालाई अन्तिम सूचना पनि भनिएको थियो। माघमा निकालिएको सूचनाको म्याद फागुन २३ गते नै सकिएको थियो।
व्यवसायीहरुले भने नगरपालिकाले आफूहरुलाई उचित विकल्प दिनुपर्ने माग गर्दै हट्न मानेका थिएनन्। त्यसपछि नगरपालिकाले फागुन ३० गते जबर्जस्त भत्काउने चेतावनी दिएको थियो।
नगरपालिकाले वीरेन्द्रनगर–६ र ८ नम्बर क्षेत्रमा पर्ने गोदाम लाइनस्थित साल्ट ट्रेडिङको कार्यालयबाट उत्तरतर्फ नेकपा एमाले पार्टी कार्यालयसम्म, घन्टाघरबाट दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयको घेराबारसम्मका अस्थायी घरटहरा, घुम्ती लगायत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको हो।
यो क्षेत्रमा रहेको करिब साढे दुई बिघा जग्गामा नगरपालिकाले पार्किङ, बगैंचा लगायत सार्वजनिक संरचना बनाउने योजना अघि सारेको छ।
सूचनाको म्याद गुज्रिएर नगरपालिकाले दिएको चेतावनीपछि पनि व्यवसायीहरु आफ्ना संरचना र सामान सार्न तयार थिएनन्। उनीहरुले उद्योग वाणिज्य संघले सर्वदलीय वैठक बसालेर व्यवसायीहरुलाई विकल्पसहित न्याय गर्नुपर्ने माग गरेका थिए।
नगरपालिकाले भने सम्झौताअनुसार विकल्पक दिनु नपर्ने भन्दै जग्गा खाली गरिदिन सूचना जारी गरेको थियो।