सुर्खेत। कर्णाली प्रदेशको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको सात दिनको समय आज सकिँदै छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गने राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले सोही दिन सरकार गठन गर्न सात दिनको समय दिएका थिए।
केन्द्रमा भएको सत्ता समीकरण र प्रदेशको भागबण्डामा गठबन्धन दलको शिर्ष नेतृत्वबीच भएको सहमतिका आधारमा शर्माले पदबाट राजीनामा दिएका थिए। केन्द्रमा सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ।
सहमतिका आधारमा शर्माले राजीनामा दिएपछि एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले चैत २२ गते नै मुख्यमन्त्रीका लागि दावी पेश गर्ने तयारी गरेका थिए। तर सत्ता छोडेको माओवादी र सत्ता नजिक पुगेको एमालेबीच कुरा नमिलेपछि अन्तिम दिनसम्म पनि दावी पेश हुन सकेको छैन।
नेकपा माओवादी केन्द्रले आफूले नेतृत्व छोडेपछि प्रदेश सभाको सभामुख र महत्वपूर्ण चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ।
माओवादीले संवैधानिक रुपमा सम्बोधन गर्नुपर्ने माग प्रदेशमा उठाउनु अस्वभाविक भएको नेकपा एमालेका सांसद जीतबहादुर मल्लले बताए। माओवादीले चारवटा महत्वपूर्ण मन्त्रालय माग गर्नु पनि व्यावहारिक सहकार्य नभएको उनले बताए।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले माओवादीका माग सम्बोधन गरेर मात्र एमालेले मुख्यमन्त्रीमा दावी पेश गर्नुको विकल्प नरहेको बताए।
माओवादीले प्रदेश सभा र मन्त्रिपरिषदको प्रमुख दुई दलले भाग गर्नुपर्ने माग राखेको छ।
एमाले–माओवादी बीच कुरा मिलेमा मंगलबार कँडेलले संविधानको धारा १६८ को उपधारा २ (१) बमाजेजिम आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गर्नेछन्।
कर्णाली टाइम्स
मंगलबार, चैत्र २७, २०८०