सोमवार, जेष्ठ ६, २०८२

कर्णालीमा ६ जना मन्त्री थपिए

एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मुख्यमन्त्री कँडेलले नियुक्त गरे राज्यमन्त्री

  
कर्णाली टाइम्स मंगलबार, बैशाख १८, २०८१


सुर्खेत। कर्णाली प्रदेशमा ६ जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री यामलाल कँडेले नेतृत्वको मन्त्रिपरिषदमा राज्यमन्त्रीसहित ६ जना नयाँ मन्त्री नियुक्त भएका हुन्। उनीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री कँडेलले मंगलबार नै नेकपा माओवादी केन्द्रबाट महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।
नेकपा एमालेबाट विनोद कुमार शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेरबहादुर बुढालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनाएका छन्। गमता विक भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्। एमालेले भाग पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैंसँग राखेका छन्।
माओवादीबाटै रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री बनेका छन्। वैशाख १३ गते विनाविभागीय मन्त्री बनेका उनलाई मुख्यमन्त्रीले मंगलबार मन्त्रालय जिम्मा दिएका हुन्।
कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन्।
यसअघि कर्णालीमा सत्तारुढ दलहरु माओवादी र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषदले पनि पूर्णता पाएको थिएन। वैशाख ११ गते दुई दलबीच मन्त्रालय भागबण्डा टुंगिएको थियो। जसअनुसार माओवादीले चार वटा र एमालेले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिने सहमति भएको थियो।