कर्णाली टाइम्स
शुक्रबार, बैशाख २१, २०८१
सुर्खेत। लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जना २२ बर्षपछि पक्राउ परेका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ का ७० बर्षीय मनबहादुर पुन र ६७ बर्षीय प्रेमबहादुर पुनलाई यही साताको मंगलबार पक्राउ गरिएको हो।
उनीहरुलाई लागुऔषध (गाँजा, चरेश) मुद्दामा जिल्ला अदालतले दुई बर्ष कैद सजाय फैसला गरेको थियो। दुवै जनालाई घरबाटै पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा जिल्ला अदालत सल्यानले २०५९ माघ २६ गते दुवै जनालाई दुई वर्ष कैद फैसला गरेको थियो। २२ बर्षपछि पक्राउ परेका उनीहरुलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।