मंगलबार, मंसिर ११, २०८१

कर्णालीको पहिलो चारतारे होटल बन्यो सिद्धार्थ

  
कर्णाली टाइम्स आइतवार, बैशाख २३, २०८१


सुर्खेत। सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘सिद्धार्थ होटेल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल बनेको छ।
पर्यटन विभागले उक्त होटेललाई चारतारे होटेलको स्तरमा वर्गीकरण गरेको हो। होटेल यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गमा परेको थियो।
सुविधासम्पन्न उक्त होटेलमा चार स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा रहेका छन्। यस्तै चारवटा कन्फ्रेन्स हल, ६ सयजनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल, पुलबार रेस्टुरेन्टको समेत सुविधा रहेको छ।
फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटिपार्लरलगायत सुविधा सिद्धार्थमा उपलब्ध छन्।
वीरेन्द्रनगरमा २०७२ सालदेखि सञ्चालनमा आएको उक्त होटेलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। २६ वर्षअघि टीकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटेल र विभिन्न स्ट्यान्डर्डका होटेल तथा क्याफे देशभर चलाईरहेको छ।