सुर्खेत। वीरेन्द्रनगरमा रहेको कृष्ण संस्कृत साधारण माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन्। शनिबार उनीहरुले दुई लाख रुपैयाँ अक्षयकोष स्थापनार्थ विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
विद्यालयको ६६ औं बार्षिकोत्सवका अवसरमा २०५५ सालमा विद्यालयबाट एसएलसी पूरा गरेका २० जना पूर्वविद्यार्थीहरुको समूहले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।
अक्षय कोषबाट प्राप्त हुने प्रतिफलबाट बार्षिक रुपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्य राखिएको सुष्मा गिरीले बताईन्।
आगामी बर्षहरुमा पनि विद्यालय तथा विद्यार्थीलाई सहयोग पुग्ने सक्दो काम आफूहरुले गर्ने उनले बताईन। यसले विद्यालयप्रति भूपू विद्यार्थीहरुको उत्तरदायित्व र आपसी सद्भाव पनि झल्किने गिरीले बताईन।
विद्यालयको ६६ औं वार्षिकोत्सवकै अवसरमा २०५६ सालको ब्याचले विद्यालयमा अध्ययनरत दृष्टिविहीन छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ। ५० हजार रुपैयाँ बराबरको सामग्री २० जना छात्रछात्रालाई वितरण गरिएको हो।
कर्णाली टाइम्स
आइतवार, बैशाख २३, २०८१