बुधबार, कार्तिक ७, २०८१

२७ जनाबाट सुरु भएको सहकारीमा थपिए २३ हजार बढी सदस्य

सदस्यका छोराछोरीका लागि शैक्षिक ऋण, व्यवसायिक ऋणतर्फ ५७ करोड लगानी

  
कर्णाली टाइम्स शनिबार, असार २३, २०८१

सुर्खेत। सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले हाल १३ ठाउँबाट सेवा दिईरहेको छ। स्थापना भएको २३ बर्षमा सहकारीले ८ वटा सहकारीलाई एकीकरण गरेर आफ्नो सेवा सञ्चालन गरिरहेको छ।
२०५८ सालमा २७ जनाको भेलाबाट सहकारी स्थापना गरिएको छ। २७ जना सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले २३ हजार बढी सदस्य छन्। सदस्यहरुमा पनि ५९.२९ प्रतिशत महिला सदस्य रहेका छन्।
सहकारीका अध्यक्ष बमबहादुर बिसीका अनुसार हाल १२ हजार ९८८ जना महिला सदस्य छन्। १० हजार ४४५ पुरुष सदस्य छन्। ५५ जना संस्थागत सदस्यसहित हाल वीरेन्द्रनगर सहकारीमा २३ हजार ४८८ जना शेयर सदस्य छन्।
सहकारीसँग हाल ४६ लाख ५० हजार ८१८ रुपैयाँ नगद मौज्दात रहेको छ। बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार ९८८ रुपैयाँ छ। सहकारीसँग स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार ३८८ रुपैयाँ छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार ४३२ रुपैयाँ छ। संस्थाको हालसम्मको कुल सम्पत्ति एक अर्ब २२ करोड ९५ लाख ४३हजार ४२८ रुपैयाँ छ।
संस्थाले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई ऋण लगानी गर्ने गरेको छ। सहकारीका सदस्य रहेका युवाहरुका लागि ऋण दिने गरिएको हो। सहकारीले हालसम्म सात जना बैदेशिक रोजगारीमा गएका सदस्यहरुलाई ४८ लाख ८१ हजार ७०६ रुपैयाँ ऋण दिएको अध्यक्ष बिसीले बताए।
‘सहकारीले बैदेशिक रोजगारीमा जान चाहने सदस्यहरुका लागि ऋण लगानीको व्यवस्था गरेको छ,’ उनले भने, ‘यो सुविधाले सहकारी सदस्यहरु बैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन्।’
सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहाने शेयर सदस्यका छोराछोरीका लागि पनि लगानी गर्ने गरेको छ। शेयर सदस्यका छोराछोरीहरुका लागि शैक्षिक ऋणको व्यवस्था गरिएको अध्यक्ष बिसीले बताए। हालसम्म शैक्षिक ऋण शिर्षकमा ३५ लाख २५ हजार ८६० रुपैयाँ लगानी गरिएको उनले बताए।
यस्तै कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार १८१ रुपैयाँ ऋण ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य सहकारीको हो, यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत जीवनस्तरमा पनि सुधार आएको छ।’ बिसीले भने।
चालू आर्थिक वर्षको असार १५ सम्म सहकारीले व्यवसाय शिर्षकमा ५७ करोड ८३ लाख ९६ हजार ६५९ रुपैयाँ लगानी गरेको छ। यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भइरहेको सहकारीले जनाएको छ।
यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ। लघुउद्यम शिर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार २३५ रुपैयाँ शेयर सदस्यहरुलाई लगानी गरेको छ।
सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालू आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ७६८ रुपैयाँ ऋण लगानी रहेको बताए। यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार ४३२ रुपैयाँ छ भने तिर्नुपर्ने दायित्व तीन लाख ७२ हजार ७८८ रुपैयाँ छ।
सहकारीले चालू आर्थिक वर्षमा ३६ जना सुत्केरी सदस्यहरुलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक शेयर सदस्यहरुलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना शेयर सदस्यहरुका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए।
प्रवन्ध निर्देशक थापाले सहकारीले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने ४६७ जना सदस्यहरुलाई तीन लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको, सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउन बचतमा विविधिकरण गरी आकर्षक प्रतिफल प्राप्त गर्ने गरी हरेक तीन–तीन महिनामा ब्याज प्रदान गर्ने गरिएको उनले जानकारी दिए।