शनिबार, कार्तिक १०, २०८१

प्रधानमन्त्रीबाट पदमुक्त भए प्रचण्ड

  
कर्णाली टाइम्स शुक्रबार, असार २९, २०८१


सुर्खेत। २०७९ को आम निर्वाचनपछि प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छ् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।
शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ। विपक्षमा १९४ मत परेको छ। एक जना सांसद भने तटस्थ बसेका थिए।
प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्तावका पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका सांसद उभिएका छन्।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
त्यसयता गठबन्धन फेरबदल गर्दै प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए।