मंगलबार, असार १७, २०८२

दशौं राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्री कँडेलले भने– दिन गनेर बस्नुभन्दा व्यवस्थापनमा लाग्नुहोस

  
कर्णाली टाइम्स शनिबार, भदौ १, २०८१


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन्। शनिबार भएको प्रतियोगितासम्बन्धि एक कार्यक्रममा उनले कर्णालीका लागि प्रतियोगिता अवसर भएकाले उचित व्यवस्थापनमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको कर्णाली प्रदेशप्रति आम नागरिक र खेलाडीको भरोसा बढेको उनले बताए। राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने विषयले देश तथा विदेशबाट कर्णालीको मुल्याङ्कन हुन थालेको उनले बताए।
‘अहिले नै खेलकुद प्रतियोगिताको लागि दिन गन्ने बेला भएको छैन, दिन गन्न छोडेर कमजोर व्यवस्थापनलाई मजबुत पार्नतर्फ लाग्नुस्।’ प्रदेश खेलकुद परिषदलाई इंगित गर्दै मुख्यमन्त्री कँडेलले भने। उनले राष्ट्रिय खेलकुद गर्न अहिलेको परिवेशअनुसार व्यवस्थापन हुन नसकेको टिप्पणी गरे।
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदबाट झण्डा ग्रहण गरेको कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि ९ गतेसम्म दशौं प्रतियोगिता आयोजना गर्ने तालिका बनेको छ।
मुख्यमन्त्री कँडेलले प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषदलाई निर्देशन दिए। उनले खेलाडीहरुलाई निराश हुन नपर्नेगरि सरकारका तर्फबाट काम गर्ने प्रतिबद्धता पनि जनाए।
आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न सरोकारवालाले भूमिकाअनुसारको दायित्व पूरा गर्नुपर्ने उनले बताए। मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता उनले जनाए।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमा पनि केही खेलहरु पथ गर्न मन्त्रालयका तर्फबाट काम भईरहेको बताए। प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने बजेट, खेलाडीका लागि प्रशिक्षण लगायतको तयारी मन्त्रालयबाट भईरहेको उनले बताए।