बुधबार, बैशाख १०, २०८२

अपांगता भएकाहरुका लागि बनेका विद्यमान सवालबारे अन्तरक्रिया

  
कर्णाली टाइम्स आइतवार, मंसिर २३, २०८१


सुर्खेत। अपांगता भएका व्यक्तिहरुका लागि बनेका विद्यमान सवालका विषयमा कर्णाली प्रदेशस्तरीय अन्तरक्रिया गरिएको छ। आइतबार वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको सहकार्यमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको हो।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपांगता भएका व्यक्तिहरुप्रतिको बुझाई अन्त्य हुनुपर्ने बताए।

‘अपांगता भएका व्यक्तिहरुले केही पनि गर्न सक्दैनन् भन्ने भाष्य हामीले अन्त्य गर्नु आवश्यक छ, पछिल्लो समय सरोकारवाला निकायको सहयोग र अपांगता भएकाहरुको आफ्नो आत्मबलले उदाहरणीय काम गरेका नेपालमै उदाहरण छन्,’ उनले भने, ‘अपांगता भएकाहरुका लागि राज्यले गर्नुपर्ने सहयोग भयो भने सबै आत्मनिर्भर बन्न सक्दछन्।’

उनले अब कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुदका क्रममा अपांगता भएका व्यक्तिहरु सहभागी हुने खेलहरु पनि सञ्चालन गर्नुपर्ने बताए। यसका लागि प्रदेश सरकारले समन्वय गर्ने उनले बताए।

मन्त्री भण्डारीले सरकारले अपांगताको क्षेत्रमा बजेट लगानी गरेपनि कम भएको महसुश भएको बताए। यो क्षेत्रमा भएको बजेट कार्यान्वयन पूर्णरुपमा हुन नसकेकोप्रति सरकार सजग रहेको उनले बताए।

मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले अपांगताका क्षेत्रमा सरोकार राख्ने निकायले स्रोतविना गर्न सकिने काम आ–आफ्ना तर्फबाट गर्नुपर्ने बताए। यस्ता क्षेत्रमा काम गर्न नीति मात्र पूर्ण नहुने भएकाले स्रोतसहित काम गर्न प्रभावकारी कानुनको आवश्यकता रहेको उनले औंल्याए।

र्णालीको सामाजिक मान्यताका कारण अपांगता भएका महिलालाई अरुभन्दा बढी समस्या भएको तुल्सी बुढा क्षेत्रीले बताईन्। सामाजिक मान्यताकै कारण पुरुषहरुको तुलनामा अपांगता भएका महिलाहरु अगाडि बढ्न नसकेकोले यसलाई सहजीकरण गर्नु राज्यको दायित्व हुने उनले बताईन्।

नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य सुरेशकुमार खड्काले अपांगता भएका क्षेत्रबाट पहिचान गरिएका नौ वटा सवाल सम्बोधनका लागि प्रदेशस्तरीय निर्देशक समिति बनाउनुपर्नेमा जोड दिए। सबै प्रकारका अपांगता भएका व्यक्तिहरुलाई सम्बोधन गर्नेगरि नीति तीनै तहका सरकारले बनाउनुपर्ने उनले बताए।

खड्काले अपांगता भएका व्यक्तिहरुको पहुँच जाँच गरेर वकालत गर्नेगरि नीतिगत संरचना प्रदेशस्तरमा हुनुपर्ने औंल्याए।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा कुल जनसंख्यामध्ये ३.२५ प्रतिशत मानिसहरु अपांगता भएका छन्। राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका व्यवस्थापक आनन्द बहादुर विष्टका अनुसार कर्णाली प्रदेशमा ५३ हजार ५२ जना अपांगता भएका मानिस रहेका छन्।