मंगलबार, माघ २२, २०८१

घरभित्र निसास्सिएर दुई जनाको मृत्यु, एक जनाको उपचार जारी

  
कर्णाली टाइम्स बिहीबार, पुस ४, २०८१


सुर्खेत। घरभित्र निसास्सिएर सुर्खेतमा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र बिर विश्वकर्माका अनुसार सोही ठाउँका ३० बर्षीया देविसरा थापा र उनका ६ बर्षीय छोरा रियान थापको मृत्यु भएको हो।

सँगै सुतेकी देविसराका ९ बर्षीया छोरी घाईते छन्। उनको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको डिएसपी विश्वकर्माले जानकारी दिए।

घटना बुधबार रातिको भएपनि बिहिबार बिहान साढे ९ बजे मात्र खबर पुगेको थियो।

बेलुका खाना खाईसकेपछि कोईला बालेर उनीहरु सुतेको प्रहरीले जनाएको छ। झ्याल, ढोका थुनेर सुतेकाले तीनै जना निसास्सिएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी विश्वकर्माले जानकारी दिए।

तीनै जनालाई अस्पताल पु¥याएपछि चिकित्सकले आमा देविसरा र छोरा रियानलाई मृत घोषणा गरेका थिए।