सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वायत्र् संस्था मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ।
विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष प्रा. डा देवराज अधिकारीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराल सम्मिलित समितिले गरेको मुल्याङ्कनपछि मुसोमले उक्त प्रमाणपत्र पाएको हो।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले प्रमाणपत्र पाइसकेपनि आगामी दिनमा थप गुणस्तर वृद्धि गर्न आग्रह गरे।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने मुसोम कर्णालीको पहिलो शैक्षिक संस्था भएको बताए। यसले कर्णाली प्रदेशका लागि गौरवको विषय भएको उनले बताए।
मुसोमका निर्देशक डा. सुशिलकुमार शाहीले यो शैक्षिक संस्थालाई गुणस्तरीय बनाउन सबैको सामूहिक पर्यत्न रहेको बताए। यो गुणस्तरलाई आगामी दिनमा पनि कायमै राख्ने प्रतिबद्धता उनले जनाए।