सुर्खेत। आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावकारी बनाउने नेपाली काँग्रेस कर्णाली प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बिहिबार बसेको कर्णाली प्रदेश कार्यसमितिको वैठकले प्रवक्ता दमन शाहीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
काँग्रेस कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको वैठकले कार्यसम्पादन समिति र पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
प्रवक्ता शाहीका अनुसार संगठनलाई प्रभाकारी रुपमा परिचालन गर्दै नागरिकको पक्षमा कांग्रेसका जनप्रतिनिधि लाई काम गर्न प्रेरित गर्ने र कांग्रेसले सरकार सञ्चालनका क्रममा गरेका जनपक्षीय कामको जनताबीच प्रचार गर्ने निर्णय पनि वैठकबाट गरिएको छ।
कांग्रेसको कर्णाली प्रदेश सम्मेलन गर्न पदाधिकारी बैठकबाट निर्णय गर्ने अधिकार दिने निर्णय पनि वैठबाट गरिएको छ।
यस्तै काँग्रेस कर्णाली प्रदेश समितिमा आवद्ध रहेका र पार्टीमा सक्रिय व्यक्ति तथा उनीहरुको आफन्तको निधनप्रति शोक प्रस्ताव वैठकबाट पारित गरिएको छ।