सोमवार, जेष्ठ ६, २०८२

अन्तर विद्यालय क्रिकेट प्रतियोगीताः पहिलो दिन हार्भेष्टमुन र डिभी निकेतनको जीत

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २३, २०८२


सुर्खेत। वीरेन्द्रनगरमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगीतामा डिभी निकेतन र हार्भेष्टमुन बोडिङ स्कुलले सुरुआती जीत निकालेका छन्। मंगलबारको दोस्रो खेलमा हार्भेष्टमुनले सेलेडाइन एकेडेमीलाई १२४ रनले पराजित गरेको छ। टस हारेर पहिले व्याटिङ गरेको हार्भेष्टमुनले आठ विकेटको क्षतिमा १७७ रन बनायो।हार्भेष्ट

मुनका प्रेम थापाले सर्वाधिक ४८ रन बनाए। ३१ बलको सामना गरेका थापाले तीन छक्का र पाँच चौका प्रहार गरे। हार्भेष्टमुनका रोहितकुमार जोशीले १२, गणेश शाहीले १३, निशान बण्डालाले नटआउट २५ र याम सिंहले नटआउट १२ रन बनाए।

सेलेडाइनका सुवाशकुमार मल्लले चार विकेट लिए भने हिमाल शाहीले दुई तथा विपिन बुढा र आर्यान भण्डारीले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको सेलेडाइन जम्मा ५३ रनमा अलआउट भएको थियो। उसका लागि प्रशन्न भूषालले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक लिन सकेनन्। सेलेडाइनका तीन जना ब्याट्समेन शून्यमा र पाँच जनाले एकेक रन बनाएर आउट भए।

सेलेडाइनलाई सस्तैमा समेट्ने क्रममा दिपेश सिंहले सर्वाधिक चार विकेट लिए। जम्मा दुई ओभर बलिङ गरेका उनले सात रन खर्चिएका थिए। यस्तै सन्दीप बिसीले दुई तथा प्रेम थापा, अनिल विष्ट, उपेन्द्र शाहीले एक–एक विकेट लिए।

मंगलबारकै पहिलो खेलमा डिभी निकेतनले साउथ एसियन स्कलर्स एकेडेमीलाई ८५ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको डिभी निकेतनले पाँच विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

डिभी निकेतनका भूपेन्द्र शाहीले सर्वाधिक ७६ रन बनाए। ३३ बलको सामना गरेका उनले ७ छक्का र ६ चौका प्रहार गरे। यस्तै विजय शाहीले १७ बलमा २० रन बनाए। साउथ एसियनका विक्रम वली र सुपर खरालले समान दुई–दुई विकेट लिए भने वशन्त शाहीले एक विकेट लिए।

जवाफी ब्याटिङ थालेको साउथ एसियन ४४ रनमै समेटियो। उसका लागि डेकेन्द्र थापाले २३ रन बनाए। अन्य ब्याट्समेनले दोहोरो अंकको रन बनाउन सकेनन्।

साउथ एसियनलाई सस्तैमा समेट्ने क्रममा योकेन्द्र बुढाले सर्वाधिक चार विकेट लिए भने प्रकाश रोकायाले तीन विकेट लिए। दीपेन्द्र शाही, सुनिल शाही र गौरव बुढाले समान एक–एक विकेट लिए। ७६ रन बनाएका भूपेन्द्र शाही खेलको प्लेयर अफ दि म्याच घोषित भएका छन्।