सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन्। तत्कालिन १० बर्षे सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्ष नेकपा माओवादीबाट निर्मम हत्या गरिएका पत्रकार थापाको सालिकमा सोमबार अध्यक्ष प्रचण्डले माल्यार्पण गरेका हुन्।
दैलेख बजारस्थित डेकेन्द्र चोकमा निर्माण गरिएको थापाको सालिकलाई फुलमालाले माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले तत्कालिन समयमा गरिएको थापाको हत्याप्रति आत्मालोचना गरे पनि। थापाको सालिकमा माल्यार्पणपछि प्रचण्डले पत्रकार थापाको घरमा पुगेर उनका आमा गंगादेवी थापालाई समेत भेटेका छन्। गंगादेवीसँगको भेटमा प्रचण्डले द्वन्द्वको समयमा पार्टीबाट थापाको हत्या गरिनु गलत भएको बताए।
दैलेख जिल्ला कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका थापालई द्वन्द्वकालमा माओवादीका कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेका थिए। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका थापाको २०६१ साउन २७ गते नौमुले गाउँपालिकाका–१ द्वारीस्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।
नारायण नगरपालिकामा चुलिदै गएको खानेपानी समस्याको बारेमा रिपोर्टिङ गर्न गएका थापालाई माओवादी कार्यकर्ताले अपहरण गरेका थिए।