बुधबार, कार्तिक १२, २०८२

जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिदसहित दुई जना पक्राउ

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ७, २०८२


सुर्खेत। जाजरकोटको जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैधरुपमा राजस्व संकलन गर्दै आएका दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय वडावन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका–६ राहदेउबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी वसन्तकुमार शर्माका अनुसार उनीहरु लामो समयदेखि नक्कली छाप र कागजात प्रयोग गरी जिल्लाबाट बाहिर जान तयार रहेका जडिबुटी तथा खनिजजन्य सामग्री लोड भएका सवारी साधनहरु रोकेर कर संकलन गर्दै आएका थिए। सोही सूचनाका आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको डिएसपी शर्माले बताए।

प्रहरीले जुनिचाँदे गाउँपालिकाको नक्कली कार्यालय छाप, अनुसूची १०१ अन्तर्गतको महालेखा परीक्षण फाराम नम्बर ११ आम्दानी रसिद, जडिबुटी तथा खनिज पदार्थ चेकजाँच सिफारिससम्बन्धि पत्र, रसिद नं. ४३९ सहितको कर संकलन रसिदलगायतका नक्कली कागजातहरु उनीहरुको साथबाट बरामद गरेको छ।

तत्काल पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको डिएसपी शर्माले जानकारी दिए।