सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्बको बजेट ल्याएको छ। आइतबार राति सञ्चालन भएको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री शाहले आर्थिक बर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्। यो बजेट चालु आर्थिक बर्षको तुलनामा ५ प्रतिशत बढी हो।
कर्णाली प्रदेश सरकारले विनियोजन गरेको आगामी आर्थिक बर्षको कुल बजेटमध्ये ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ (२३.६४ प्रतिशत) चालु बजेट रहेको छ।
पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात (६०.५५ प्रतिशत) रहेको छ। वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख (१.६६ प्रतिशत) बजेट विनियोजन गरिएको छ।
कर्णाली प्रदेश सरकारले ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेको छ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०९२/८३ मा आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार संकलन हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष खर्च हुन बाँकी रकम ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिएको छ।
संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ। वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ स्रोत परिचालन हुने अनुमान गरिएको छ।
बजेट प्रस्तुत गर्ने मुख्य कार्यसूचिसहित आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको वैठक तोकिएपनि सत्ता र प्रतिपक्ष दलबीच सहमति नहुँदा मध्यरातमा वैठक सञ्चालन गरिएको थियो।