सुर्खेत। डोल्पामा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोका कारण ५३ घरमा क्षति पुगेको छ। काइके गाउँपालिका–४ रिवा गाउँमा पाँच सय मिटर माथीबाट झरेको लेदोसहितको पहिरोले स्थानीयको घरमा क्षति भएको हो।
शुक्रबार बिहान साढे १ बजेपछि भारी वर्षा भएको र त्यसले माथिबाट लेदोसहितको पहिरो झर्दा स्थानीयका घरमा क्षति पुगेको डोल्पाका प्रहरी प्रमुख डिएसपी रुकबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार बिहानीपख झरेको पहिरोले आठ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। थप १२ घरमा मध्यम क्षति छ भने अन्य घरहरुमा सामान्य क्षति पुगेको छ।
पहिरोको खबर सुनेपछि बिहान ९ बजेतिर मात्रै प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय जनप्रतिनिधि मिलेर क्षतिको प्रारम्भिक तथ्याङ्क संकलन गरिरहेको डिएसपी खड्काले बताए।
बिहान पहिरो झरेको थाहा पाएपछि गाउँलेहरुले भागेर ज्यान बचाएका हुन्। पहिरोका कारण थप क्षतिको विवरण भने आईसकेको छैन।