सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको पर्यटकीय क्षेत्रका काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रलाई प्रदेशकै लागि आर्थिक विकास गर्न सकिने उनले बताए।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेबिहारको महत्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सरोकारवाला एकतावद्ध भएर अघि बढ्नुपर्ने औंल्याए।
‘काँक्रेबिहारलाई लुम्बिनीसँग पर्यटकीय रुपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ, काँक्रेबिहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो,’ मुख्यमन्त्री कँडेलले भने, ‘यलाई प्रभावकारी रुपमा प्रचारप्रसार गर्नसके समग्र कर्णाली प्रदेशको आर्थिक स्वरुप परिवर्तन गर्न सकिन्छ।’
काँक्रेबिहारलाई खुला चिडियाखानाका रुपमा विकास गर्नुपर्ने उनले बताए। पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेबिहारलाई व्यवस्थित गर्ने योजना अघि सार्न उनले सुझाव दिए।
कँडेलले स्थानीय युवालाई काँक्रेबिहारको सम्वद्र्धनमा सहभागी भएर आफ्नै क्षेत्रमा उद्यमशीलताको अवसर खोज्न पनि आग्रह गरे।