कर्णाली टाइम्स
शुक्रबार, असार २०, २०८२
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार खेतमा धान रोपाइँ भईरहेको बेला काम गरिरहेका सोही ठाउँका २७ बर्षीय डिलबहादुर शाहीको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो करिब ३ बजेतिर स्थानीय बीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
चट्याङ लागेर अरु चार जना घाईते भएका छन्।
भेरीगंगा–८ कुइरेका १७ वर्षीय पर्बत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरी घाईते भएका हुन्। उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।