आइतवार, कार्तिक २, २०८२

कर्णाली प्रदेशको बजेट सर्वसम्मतिले पारित

  
कर्णाली टाइम्स शुक्रबार, असार २०, २०८२


सुर्खेत। कर्णाली प्रदेशको आर्थिक बर्ष २०८२/०८३ को बजेट पारित भएको छ। शुक्रबार कर्णाली प्रदेश सभाको वैठकबाट सर्वसम्मतिले बजेट पारित गरेको हो।

संसदमा बजेटमाथिको शुक्रबारसम्मको छलफल सकिएलगत्तै अर्थमन्त्री राजिब विक्रम शाहले प्रस्ताव गरेका बजेटसँग सम्बन्धित विशेष प्रस्तावसहित बजेट पारित गरिएको हो।

कर्णाली प्रदेश सभा नियमावली २०८१ को नियम १४१ (१२) बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक, २०८२ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ पारित गरिएको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। असार १ गते प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो।

विनियोजित कुल बजेटमध्ये चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख १ हजार (२३.६४ प्रतिशत) रहेको छ ।

पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख (१.६६ प्रतिशत) बजेट विनियोजन गरिएको छ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ (१३.९५ प्रतिशत) विनियोजन गरिएको छ।

उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकेर सम्भावित बचत हुने रकम पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ।

वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपियाँ स्रोत परिचालन गरिने अनुमान छ।