
सुर्खेत। पाँच किलोग्राम भन्दा बढी परिमाणको अफिमसहित एक जना पक्राउ परेका छन्। बुधबार साँझे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीबाट पाँच किलो ५४० ग्राम अफिमसहित जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० सिर्पाका ४६ बर्षीय जयबहादुर बस्नेत पक्राउ परेका हुन्।
उनी पक्राउ परेको बारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। तालबारीमा अफिमको कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो।
सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर राज शाहीका अनुसार लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच उक्त परिमाणसहित कारोबारी पक्राउ परेका हुन्।
बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकताको प्रमाणपत्र, विभिन्न बैंकबाट जारी गरिएका चेक पाँच थान, ४ हजार ७३० रुपैयाँ नगद समेत बरामद गरिएको एसपी शाहीले जानकारी दिए।
जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सीमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस्नेतलाई भारतीय नागरिकले अफिम खरिदका लागि बोलाएका थिए। प्रहरी पुगेपछि भारतीय नागरिक भागेका थिए।
बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।
सुर्खेत प्रहरीले बुधबार बरामद गरेको अफिभएको अफिमको परिमाण अहिलेसम्मको ठूलो भएको जनाईएको छ।
