आइतवार, कार्तिक २, २०८२

कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

जवाफदेहिता कायम राख्दै मन्त्रालयका कामकारबाही प्रभावकारी बनाउन निर्देशन

  
कर्णाली टाइम्स बिहीबार, साउन १, २०८२


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। बिहिबार औपचारिक रुपमा मुख्यमन्त्री कँडेलले प्रदेशका विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।

उनले मन्त्रीहरुसँगको यो सम्झौता प्रदेश सरकारको कार्यक्षमता वृद्धिका लागि भएको बताएका छन्। यो सम्झौताले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी बनाउन र नतिजामुखी कार्यान्वयन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए।

नागरिकको समर्थन र सुशासनको प्रवद्र्धनका लागि मन्त्रीहरुलाई कार्यतालिका सहितको कार्यसम्पादन सम्झौतामा जोड दिइएको मुख्यमन्त्री कँडेलले बताए।

प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकार भित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउने हेतुले कार्यसम्पादन सम्झौता गरिएको हो।

मुख्यमन्त्री कँडेलसँग आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका छन्।

माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरिएको मुख्यमन्त्री कँडेलले बताए । उनले कार्यसम्पादन सम्झौतामा उल्लेख गरेका विषयहरुलाई मन्त्रालयले वार्षिक क्यालेन्डर बनाएर लागू गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिए।

सम्झौतालाई आधार बनाएर आफ्ना सचिवहरुसँग परिणाम आउने गरी कार्यतालिका सहितको कार्यसम्पादन सम्झौता गर्न उनले मन्त्रहिरुलाई निर्देशन दिए।

अब यसपछि मन्त्रीहरुले मातहतका सचिव र सचिवले कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्नेछन्।