
सुर्खेत। कर्णाली प्रदेशभर ५० ठाउँमा अहिले पनि तुइन रहेको पाईएको छ। कर्णाली प्रदेश सरकारले संकलन गरेको तथ्याङ्कको प्रराम्भिक प्रतिवेदनले अझै पनि कर्णालीमा ५० ठाउँमा तुइन रहेको देखाएको छ। तुइन हटाउने नीति लिएको कर्णाली प्रदेश सरकारले तथ्याङ्क संकलन गरेको हो।
दश जिल्लाबाट संकलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए।
तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुसार मन्त्रालयबाट विवरण माग गरिएको थियो। प्रदेशका दशमध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको सुवेदीले जानकारी दिए।
सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेका छन्। हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ। हुम्लामा कर्णाली नदीमाथि मात्र ६ वटा तुइन रहेका छन्।
कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा २, मुगुमा २, डोल्पामा ३ र सुर्खेतमा ८ वटा तुइन रहेको विवरण प्राप्त भएको छ। दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ। नीति तथा कार्यक्रममा ‘तुइनमुक्त कर्णाली’ योजना समेटेर बजेट पनि विनियोजन गरिएको छ।
तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न आर्थिक वर्ष २०८२/०८३ को कुल बजेटबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
