
सुर्खेत। टेलिफोनको टावर नियमित सञ्चालन गरिदिन स्थानीयले नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। सुर्खेतको बराहताल गाउँपालिका–८ बरडाँडामा निर्माण गरिएको टेलिकमको टावर नियमित सञ्चालन नभएको भन्दै स्थानीयले व्यवस्थापन गरी नियमित गर्न टेलिकमको कर्णाली प्रदेश निर्देशनालयको ध्यानाकर्षण गराएका हुन्।
स्थानीयले आफ्नो हस्ताक्षरसहित टेलिकमको कार्यालयमा प्रतिनिधि पठाएर ध्यानाकर्षण गराएका हुन्।
बरडाँडामा बराहताल गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाका सेवाग्राहीलाई लक्षित गर्दै टेलिकमले फोरजी टावार निर्माण गरेको थियो। टावर निर्माण भएको केही समयपछि नै नियमित काम गर्न छोडेको स्थानीय लक्ष्मण थापाले बताए।
‘सुरुमा नियमित फोन र इन्टरनेट सेवा चलेको थियो, केही समय वितेपछि बिहान १० बजेमात्र टावर आउँछ, बेलुका चार बजेपछि टावर बन्द भईसक्छ,’ नेपाल टेलिकम प्रदेश निर्देशनालयका उपनिर्देशक मधुसुदन दाहालसँगको भेटमा थापाले भने, ‘टेलिकमले कुनै पनि व्यवस्थापन गरी हामीलाई नियमित सेवा दिनुप¥यो, हामीले टावर बन्द हुँदा अत्यावश्यक सञ्चार सेवा पनि पाउँदैनौं।’
सोलारबाट सञ्चालन गरिएको टावरको विद्युत प्रणाली सुधार गरेर नियमित सञ्चालन गर्न स्थानीय दिलिप कठायतले आग्रह गरे। विपदको जोखिम भएको बर्खाको समयमै टावर बेलुकादेखि बन्द हुँदा अत्यावश्यक सञ्चार गर्नबाट स्थानीय बञ्चित भएको उनले बताए।
‘बेलुका, राति वा बिहान १० बजे अघिसम्म केही विपद भईहाल्यो भने पनि हामीले सम्बन्धित निकायलाई वा आफन्तलाई खबर गर्न सक्ने अवस्था छैन, अहिलेको समयमा फोनको भरमा धेरैजसो कार्य सम्पादन हुने अवस्थामा टावर नियमित नचल्नुले समस्या पारेको छ,’ कठायतले भने, ‘सम्बन्धित निकायले मर्मतसम्भार गरेर नियमित फोन हुने वातावरण मिलाउनुपर्छ।’
विशेषगरि बर्खा र हिउँदको समयमा दिउँसो मात्र टावर चल्ने गरेको स्थानीयको गुनासो छ।
टेलिकमको प्रदेश निर्देशनालयका उपनिर्देशक दाहालले ढिलोमा दुई हप्ताभित्र सोलार ब्याट्री परिवर्तन गरेर टावर नियमित चलाउने प्रयास गरिने बताए। टावर नियमित गर्न विद्युत अनिवार्य भएपनि तत्काल कार्यालयका तर्फबाट सोलार ब्याट्री थप गरेर केही समय थप टाव सञ्चालनको वातावरण बनाउने प्रतिबद्धता उनले जनाए।
‘सोलारबाट सञ्चालनमा ल्याईएका टावरहरु सुरुमा नियमित भएपछि पछि ब्याट्रिको जीवनचक्र सकिँदै जाँदा नियमित चल्दैनन्, यसका लागि बिजुली जडानको विकल्प छैन,’ दाहालले भने, ‘हामीले ब्याट्री वा सोलार परिवर्तन, थप जे गरेपनि बढीमा चार घण्टा थप सञ्चालन हुन सक्ने मात्र हो, त्यो काम कार्यालयबाट हामी तत्काल गर्छौं।’
सुरुमा टावर सञ्चालनमा आउँदा ट्राफिक (उपभोक्ता) कम भएकाले पनि नियमित सञ्चालन हुन सकेको उनले बताए। टावर सञ्चालनमा आईसकेपछि ट्राफिक पनि बढ्ने हुनाले प्रयोगअनुसार टावरमा भएको विद्युतीय शक्ति चाँडो खर्च हुँदा बेलुका बन्द भईदिने उनले बताए।
