आइतवार, कार्तिक ९, २०८२

जाजरकोटमा टिपरसहित भेरी नदीमा खसेका चालकको शव सुर्खेतमा भेटियो

  
कर्णाली टाइम्स शुक्रबार, साउन ९, २०८२


सुर्खेत। रुकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये एक जनाको शव सुर्खेतमा फेला परेको छ।

टिपरका चालक मनिराम चौधरीको शव शुक्रबार दिउँसो सुर्खेतको भेरीगंगा नगरपालिका–२ खोचीस्थित भेरी नदीमा फेला परेको हो।

चौधरीको घर दाङको कुन ठाउँ हो भन्ने खुलिसकेको छैन।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टका अनुसार चालकको शव झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको हो।

साउन ६ गते बेलुका उक्त दुर्घटनामा परेकामध्ये दुई जना रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का धनवीर बराइली र रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका हरि विकको अवस्था अहिले पनि अज्ञात रहेको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित तीन जना भेरी नदीमा खसेका थिए।

टिपर जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आउँदै थियो।

टिपर बुधबार बेलुका खसेको ठाउँभन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो।

बेपत्ता दुई जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।