आइतवार, कार्तिक ९, २०८२

‘विगतका कमजोरीबाट सिकेर अहिलेको बजेटलाई प्रभावकारी कार्यान्वयन गरौं’

  
कर्णाली टाइम्स शुक्रबार, साउन ९, २०८२


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्ला बर्षहरुमा भएका कमजोरी एवम् चुनौतीहरुबाट सिक्दै चालु आर्थिक बर्षको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। शुक्रबार भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको बार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा बोल्दै उनले योजना र बजेट कागजमा मात्र सिमित हुन नहुने बताए।

तोकिएको समयमा परिणाममुखी ढंगले बजेट कार्यान्वयन गर्नुपर्ने उनले औंल्याए। ‘हामीले विगतमा केकस्ता कमजोरी गरेका थियौं, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ कँडेलले भने, ‘बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनु जरुरी हुन्छ।’

योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण जस्ता चुनौतीहरुको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखहरुले उनले निर्देशन दिएका छन्।

संघीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन इकाईहरुबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाएर मात्र सरकारले गरेको विकासको अनुभूति जनताले गर्ने उनले बताए।

गोष्ठीमा प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखहरुले योजना कार्यान्वयनमा देखिएका व्यावहारिक समस्या र सम्भावित समाधानका उपायहका बारेमा आफ्नो प्रस्तुति राखेको थिए।