
सुर्खेत। कर्णाली प्रदेश सरकारले पत्रकारका लागि निशुल्क स्वास्थ्य बीमा गरेको छ।
प्रदेशमा पत्रकारितामा क्रियाशील ६९३ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरुको बीमा गरेको हो।
आइतबार मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीबीच स्वास्थ्य बीमा नीतिमा सम्झौता भएको हो। प्रदेश सरकारले स्वास्थ्य बीमा गरिदिएसँगै पत्रकारहरुले हरेक वर्ष ७० हजार रुपैयाँसम्मको उपचार निशुल्क प्राप्त गर्नेछन्।
बीमा रकम दाबीका लागि अस्वस्थ भएको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
स्वास्थ्य बीमा नीति हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा गरिदिएर सरकारले आफ्नो दायित्व पूरा गरेको बताए।
संवेदनशील र कठिन जिम्मेवारीका बीच भूमिका निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
