मंगलबार, कार्तिक ४, २०८२

वीरेन्द्रनगरमा ३५५ सिसीटिभी क्यामेरा जडान गरिँदै

  
कर्णाली टाइम्स बिहीबार, साउन १५, २०८२


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको छ। वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो।

सिसीटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बीच बिहिबार सम्झौता भएको छ। सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र १०५ वटा क्यामेरा जडान गरिसक्नुपर्ने छ। बाँकी २५० क्यामेरा चालु आर्थिक बर्षभित्रै जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

नगरपालिकाका अनुसार वडा नम्बर १ मा २४, वडा नम्बर २ मा ११, वडा नम्बर ३ मा ३२, वडा नम्बर ४ मा ५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ८, वडा नम्बर ७ मा २२, वडा नम्बर ८ मा १६, वडा नम्बर ९ मा १४, वडा नम्बर १० मा १२, वडा नम्बर ११ मा ९, वडा नम्बर १२ मा २६, वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ वटा क्यामेरा जडान गर्न लागिएको हो।

बाँकी बुलबुले, पिपलचौतारा लगायतका धेरै चहलपहल हुने क्षेत्रमा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ।

जडान गरिएको सिसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटिटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरि सम्झौता भएको छ। वडा, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सिसीटीभी क्यामेराले समेट्ने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि पहिलो पक्ष (नगरपालिका) ले आवश्यक भौतिक पूर्वाधारहरु पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ।

दोस्रो पक्ष (टेलिकम) ले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउने उल्लेख छ।

जडान गरिएका क्यामेरा तथा उपकरणहरुको सुरक्षाको जिम्मा तेस्रो पक्ष (प्रहरी) ले लिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

पहिलो चरणमा १०५ वटा क्यामेरा जडान गर्नका लागि ११ लाख ६९ हजार ५०० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले ब्यहोर्नेछ। बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्नेछ।

दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै थप क्यामेरा जडान गरिनेछ। वीरेन्द्रनगरमा बढ्दो जनसंख्याका थपिएका चुनौती, लागुओैषध, सडक दुर्घटना तथा अन्य अपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताईन्।

‘हामीले वीरेन्द्रनगर सहरलाई व्यवस्थित र सुरक्षित बनाउनु छ, सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गरी प्रहरीलाई सहयोग गर्ने पनि उद्देश्य हो,’ प्रमुख ढकालले भनिन्।

सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि जडान गरिने सिसीटिभी क्यामेरा सञ्चालनका लागि निरन्तरता दिईने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए। सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न यसबाट सहयोग पुग्ने उनले बताए।

सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले नगरपालिकाले थालेको यो कार्यले शान्ति, सुरक्षा, अमनचयन निरन्तर राख्न प्रहरीलाई सघाउ पुग्ने विश्वास व्यक्त गरे। यसले सबैखाले अपराध न्युनिकरण गर्न र सुरक्षा व्यवस्था दीगो बनाउन भूमिका खेल्ने उनले बताए।