
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले देशको पहिचान र समृद्धिमा मुख्य टेवा पुर्याउने खेलकुद भएकाले यसलाई विशेष रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
खेलकुदमार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने वातावरण सबै मिलेर सिर्जना गर्नुपर्ने उनले औंल्याए।
‘खेलकुदले युवालाई सिर्जनशिल, अनुशासित र जिम्मेवार नागरिक बनाउन सहयोग गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी सबै मिलेर खेलकुदको फराकिलो दायरलाई अझ बलियो बनाएर अघि बढ्नु जरुरी छ।’
खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, नेपाल खेलकुद महासंघका उपाध्यक्ष दिपेन्द्र दाहाल, महासंघका अन्य पदायिकारी लगायतका सहभागिता रहेको थियो।
