
सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषदको वैठकले प्रदेश सभाको अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।
मन्त्रिपरिषदले साउन १३ गतेदेखि रिक्त रहेको सामाजिक विकास मन्त्रालयको सचिवमा ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ। ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थिए। यसअघि सामाजिक विकास मन्त्रालयमा कार्यरत अर्जुन गौतम सेवानिवृत्त भएपछि मन्त्रालयमा सचिव थिएनन्।
यस्तै मन्त्रिपरिषदले जाजरकोटको जुनीचाँदे गाउँपालिकाको केन्द्र वडा नम्बर ४ लुहादहमा तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ। गाउँपालिकाको केन्द्र यसअघि वडा नम्बर ३ परालेमा थियो। गाउँपालिकाको प्रशासनिक केन्द्र उचित स्थानमा नभएको भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले २०८२ जेठ ७ गते केन्द्र वडा नम्बर ४ मा सार्न परमादेश जारी गरेको थियो।
मन्त्रिपरिषदको वैठकबाट पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२ स्वीकृत गरेको छ।
यस्तै प्रदेशका कार्यालयहरुमा सूचनाको हक कार्यान्वयन भए/नभएको विषयमा अनुगमन गर्नका लागि समिति गठन गरिएको छ। मन्त्रिपरिषदले मुुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा समिति बनाएको हो।
