सोमवार, कार्तिक ३, २०८२

कर्णालीको समग्र गुरुयोजना आवश्यक छ : उपप्रधानमन्त्री खड्का

  
कर्णाली टाइम्स बुधबार, साउन २१, २०८२


सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना बनाउनुपर्ने औंल्याएका छन्। उनले कर्णाली प्रदेशको संभावना, साधनस्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोहीअनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई परिचालन गरेमा यहाँको विकासले गति लिने बताए।

खड्काले कृषि, फलफूल, जडिबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्ष समेटेर गुरुयोजना निर्माण गरिनुपर्ने बताए। ‘स्रोत, सम्भावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौं भने मात्रै कर्णालीको द्रूत विकास गर्न सम्भव छ,’ मंगलबार प्रदेश योजना आयोगका पदाधिकारीहरुसँगको भेटमा उपसभापति खड्काले भने, ‘गुरुयोजनाको लक्ष्य अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई काम गर्न केन्द्रित गर्न सकिन्छ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले कर्णाली भूगोलमा ठूलो भएपनि छरिएर रहेका बस्तीका कारण नागरिकका घर–घरमा आधारभूत आवश्यकता पूरा गर्न समय लागेको बताए। ती बस्तीहरुलाई एकीकृत गरी आधारभूत आवश्यकताको पहुँचमा ल्याउन राज्य र विकास सझोदारहरुले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

उनले कर्णाली प्रदेशले लगानी सम्मेलनको आयोजना गर्न लागेको आफूले थाहा पाएको बताउँदै सम्मेलनअघि लगानीका क्षेत्रहरुको पहिचान गरी पेश गर्नुपर्ने बताए। ‘पछिल्लो समय लगानी सम्मेलन फेसन जस्तो बनेको छ, प्रदेश सरकारहरुले लगानी सम्मेलन गरिरहेका छन,’ उनले भने, ‘तर योजनाहरुको विस्तृत सम्भाव्यता अध्ययनविनै भइरहेका लगानी सम्मेलनले लगानी आउँदैन्, यसका लागि लगानीकर्तालाई विस्तृतमा बुझाउनेगरि तयारी आवश्यक छ।’

उनले सुर्खेतमा दुईतर्फी उडान गर्न मिल्ने धावन मार्ग भएको विमानस्थल आवश्यक भएको औंल्याए। अहिले भएको विमानस्थलमा यही सुविधा नहुँदा नियमित उडान हुन नसकेकोले ठूलो विमानस्थलको आवश्यकता भएको बताए।

‘नागरिक उड्डयन प्राधिकरणसँग अहिलेको विमानस्थल विस्तारको विषयमा छलफल गर्दा उत्तर–दक्षिणमा जति विस्तार गरेपनि अहिलेको भन्दा ठूलो जहाज बस्न नसक्ने निश्कर्ष आयो,’ उनले भने, ‘वैकल्पिक विमानस्थल बनाउन पहल गर्दा अनावश्यक विवाद सिर्जना गर्ने काम भइरहेको छ।’

‘यो भन्दा ठूलो विमानस्थल कर्णालीलाई चाहिँदैन भने यहीँ उत्तर–दक्षिण विस्तार गरे पुग्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेर च्याप्टर क्लोज गर्नुपर्यो,’ उनले थप भने, ‘यदि आवश्यक हो भने प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो काम अघि बढाइनुपर्छ।’