आइतवार, कार्तिक २, २०८२

सुर्खेत उद्योग वाणिज्य संघका सदस्यलाई ५ लाखको बीमा

  
कर्णाली टाइम्स बुधबार, साउन २१, २०८२


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले चालू आर्थिक वर्षदेखि आप्mना साधारण सदस्यहरुको लागि जीवन तथा दुर्घटना बीमा कार्यक्रम लागु गरेको छ। संघको बुधबार बसेको कार्य समितिको पाँचौं मासिक बैठकले सदस्यहरुको जीवन तथा दुर्घटनाका लागि ५ लाख रुपैयाँसम्मको बीमा गर्ने निर्णय गरेको हो।

चालू आर्थिक वर्षदेखि लागू हुनेगरि सुरु गरिएको जीवनबीमा अभियानको पहिलो चरणअन्तर्गत पहिला सदस्यता नविकरण गर्ने १ सय ५० जना सदस्यको बीमा गरिने संघले जनाएको छ।

संघमा आवद्ध हुने सदस्यलाई संघले अभिभावकका रुपमा संरक्षण गर्ने उद्देश्यले विमाको आयोजना लागू गरिएको अध्यक्ष हर्षविक्रम खड्काले बताए। ठूला व्यवसायी सबैले आफ्नो र परिवारको समेत विमा गराई भवितव्यपश्चात आर्थिक सुरक्षाको सुनिश्चितता गरेपनि ठूलो रकम (प्रिमियम) तिरेर व्यक्तिगत रुपमा विमा गर्न नसक्ने साना तथा मझौला व्यवसायीहरुलाई लक्षित गरी यस्तो अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

प्रारम्भीक र परीक्षणकाल भएकाले संस्थाले पहिलो वर्ष १ सय ५० जनाको मात्र विमा गराएपनि अभियानको प्रभावकारिता हेरी आगामी वर्षमा विमाको दायरा र संख्या पनि बढाउँदै लगिने खड्काले जानकारी दिए।

संघमा आवधिक रुपमा सदस्यता नविकरण गर्ने सदस्यको निधन भएमा विमावापतको ५ लाख रुपैयाँका साथै दाहसंस्कार एवम् अन्तिम संस्कार खर्चवापत १० हजारदेखि ५० हजारसम्म प्रदान गरिने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ।

यस्तै कुनै कारणवश घटना दुर्घटनामा परि शारीरिक अपांगता भएको अवस्थामा पनि स्वास्थ्य अवस्था हेरी विमांकको दश प्रतिशतदेखि शत प्रतिशतसम्म रकम पाउनेगरि बीमा गरिएको हो। संघका सदस्यहरुलाई संघप्रतिको अपनत्व र आवद्धता बढाउने उद्देश्यले सुर्खेतस्थित कर्णाली केयर हस्पिटलमा संघका सदस्य र परिवारको औषधी उपचारमा समेत विशेष छुटको व्यवस्था यसअघि नै मिलाईएको थियो।