
सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा प्रशासनिक अस्थिरता व्यहोर्नुपरेको बताएका छन्। बिहिबार मन्त्रीको जिम्मेवारी सम्हालेको एक बर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै भण्डारीले राजनीतिमा हुने अस्थिरताले सरकारको कार्यसम्पादनमा प्रभाव पर्ने अनुभूति गरेको बताए।
उनले आफ्नो एक बर्षभित्रै मन्त्रालयमा तीन जना सचिव फेरिएकोले कार्यसम्पादनको गति अपेक्षाबमोजिम बढ्न नसकेको बताए।
‘हाम्रो मन्त्रालय नितान्त जनसेवामुलक निकाय हो, यस्ता निकायमा अस्थिर राजनीतिको सबैभन्दा ठुलो मार परेको महसुश गरेको छु,’ उनले भने, ‘मेरो एक वर्षे कार्यकालमा तीन जना सचिव फेरिनुभयो, यसले राजनीतिक र प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता बढाएको अनुभूति भएको छ।’
निजामती सेवालाई स्थायी सरकारको रुपमा अपेक्षा गरिए पनि प्रमुख प्रशासनिक नेतृत्वकर्ता सचिवहरुको अस्थायी र अस्थिर प्रवृत्तिले काम गर्न चुनौती हुने उनले बताए। ‘निजामती सेवाको स्थायी प्रकृतिको अपेक्षा गरिए पनि सचिवहरुको अस्थायी प्रवृत्तिले काम गर्न चुनौतीपूर्ण रह्यो।’ भण्डारीले बताए।
यस्ता चुनौतीका बीच पनि आफ्नो कार्यकालमा मन्त्रालयलाई जनउत्तरदायी बनाउन र केही राम्रा तथा रचनात्मक कामको सुरुआत् गर्न आफ्नो कार्यकालमा सक्दो प्रयास गरिएको उनले बताए। सीमित स्रोतसाधन र जनशक्तिमा पनि मत्तालयले उल्लेख्य काम गर्ने प्रयास गरेको भण्डारीले दावी गरे।
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न कर्णालीको सामाजिक–आर्थिक रुपान्तरण गर्ने मन्त्रालयको गहन जिम्मेवारीलाई आफूले गम्भीरतापूर्वक लिएको बताए।
