शनिबार, कार्तिक १०, २०८१

प्रदेश ५ को राजधानी भालुवाङ, नाम ‘लुम्बिनी’

  
कर्णाली टाइम्स मंगलबार, असोज २०, २०७७

अस्थायी रुपमा बुटवल राजधानी रहेको प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ कायम भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा भालुवाङ राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो । विपक्षमा भने १३ मत खसेको छ ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रदेश सभाका ८७ जना सदस्यमध्ये ८२ जनाले मतदान गरेका थिए ।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ । दाङ जिल्लाको पूर्वी भागमा रहेको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ ।
त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारबाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ । भालुवाङ बजार नेपाल–भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ ।
यस्तै प्रदेश ५ को नाम ‘लुम्बिनी’ नामाकरण भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो । ८३ जनाले मतदान गरेकोमा लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ । विपक्षमा जम्मा ४ मत खसेको छ ।