बिहीबार, बैशाख १३, २०८१

फागुन अन्तिम सातादेखि दोस्रो ‘कर्णाली उत्सव’

  
कर्णाली टाइम्स आइतवार, पुस १९, २०७७


सुर्खेत । फागुन अन्तिम सातादेखि कर्णाली उत्सव हुने भएको छ । यो बर्षको कर्णाली उत्सव दोस्रो हो । गत बर्ष फागुन १९ देखि २१ गतेसम्म सञ्चालन गरिएको उत्सव यो बर्ष फागुन २७, २८ र २९ गते सञ्चालन हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ ।
‘कर्णाली उत्सवः कुडा कर्णालीका’ नाम दिईएको उत्सवमा कर्णाली प्रदेशको संस्कार, समानताका विषय केलाउने प्रयास गरिन्छ । यो बर्षको उत्सवमा कुनकुन विषयमा कतिवटा शत्र सञ्चालन गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन ।
आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले यस विषयमा छलफल भईरहेको जानकारी दिए । यो बर्षको कर्णाली उत्सवमा देश तथा देशबाहिरका ५० भन्दा धेरै साहित्यकार, लेखक, पत्रकार तथा विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा सहभागी हुने उनले बताए ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानभित्र कर्णाली उत्सव सञ्चालन हुने छ । गत बर्षको पहिलो उत्सव पनि सोही ठाउँमा सञ्चालन गरिएको थियो । गत बर्ष विभिन्न १४ वटा सत्र सञ्चालन गरेर कर्णालीका विविध विषयमा बहस गरिएको थियो ।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै उत्सव सञ्चालन गरिने उनले बताए । महामारीको संक्रमण अझ उच्च हुँदै गएमा भर्चुअल माध्यमबाट भएपनि उत्सव सञ्चालन गरिने संयोजक लम्सालले बताए ।
कर्णाली प्रदेशको पहिचान र सम्भावनालाई उजागर गरी प्रदेशको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटर्की महत्वलाई राष्ट्रिय रुपमा परिचिन गराउनु कर्णाली उत्सवको उद्देश्य रहेको उनले बताए ।
गत बर्षको भन्दा यो बर्षको कर्णाली उत्सवमा थप आकर्षणका प्रस्तुतिहरु हुने लम्सालले जानकारी दिए । कर्णालीका मौलिक कलाहरुको प्रस्तुति तथा नदेखिएका र नसुनिएका हिरो (पैकालो) हरुका कटा उत्सवमा प्रस्तुत गरिने उनले बताए ।
यस्तै सरोकारवालाहरुले पनि दोस्रो कर्णाली उत्सवमा आफ्नो भरपूर सहयोग हुने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले नगरपालिकाका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोगको लागि आफू तयार रहेको बताए । उनले दोस्रो उत्वसवमा छलफलका विषयलाई गत बर्षको भन्दा पनि फराकिलो बनाउन सुझाव दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य सचिव तथा कर्णाली प्रदेश सरकारका पूर्व मुख्य सचिव केवल प्रसाद भण्डारीले गत बर्षको अनुभवलाई समेटेर दोस्रो उत्सवलाई उपलब्धीमुलक बनाउन सुझाव दिए ।
निजी क्षेत्रले पनि दोस्रो कर्णाली उत्सव सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले निजी क्षेत्रबाट आयोजक सरहकै सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सुर्खेत उद्योग वाणिज्य महासंघका महासचिव लक्ष्मण कँडेलले कर्णाली उत्सव कर्णालीको पहिचान गराउन महत्वपूर्ण कार्यक्रम भएको भन्दै कर्णालीमा भित्र्याउन सकिने सम्भावित लगानीका विषयमा पनि बहस सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले गत बर्षको भन्दा फरक विषयहरुमा छलफल गर्न सुझाव दिए । उनले महासंघलाई पनि आयोजकका रुपमा राख्न सुझाव दिएका छन् ।