शनिबार, कार्तिक १०, २०८१

गौहत्या प्रकरणमा दोषी ठहरिएका १० जनालाई कैद सजाय

  
कर्णाली टाइम्स बिहीबार, माघ १५, २०७७

फाईल तस्विर

सुर्खेत । २०७६ भदौमा सुर्खेतको कटकुवा जंगलमा मरेका भेटिएका र बेवारिसे अवस्थामा छोडिएका गाईगोरुको विषयमा अदालतले १० जनालाई जेल सजाय सुनाएको छ । बुधवार सुर्खेत जिल्ला अदालतले नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय सुनाएको हो ।
अदालतले उनीहरुलाई ३ महिनादेखि डेढ बर्षसम्म जेल सजाय तोकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीलाई सबैभन्दा धेरै डेढ बर्ष कैद सजाय तोकिएको छ ।
यस्तै नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष, नगर प्रहरी जवानहरु सुवर्ण तारामी मगर, कमल बयक, चन्द्र बहादुर राना र सुशान्त शाहीलाई ६÷६ महिना जेल सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना जेल सजाय तोकिएको छ भने राकेश भारती, धर्मेन्द नेपालीलाई ३÷३ महिना तोकिएको छ । फायरम्यान कमल थापा मगरलाई पनि ३ महिना कैद सजाय तोकिएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मुलुकी अपराध संहिताको दफा २८९ (२) बमोजिम उनीहरुलाई जेल सजाय सुनाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई÷गोरु र बाच्छा÷बाच्छी २०७६ भदौ १३ गते ट्रकमा राखेर दैलेख पठाउन थालिएको थियो । त्यसक्रममा २९१ गाईगोरु र बाच्छाबाच्छीमध्ये ३९ वटा मरेका थिए । छिन्चु–सुर्खेत सडक खण्ड र सुर्खेत–दैलेख सडक खण्डमा ति पशु मरेको भेटिएका थिए । बाँचेका अरु गाईगोरुलाई पनि सडकमै अलपत्र अवस्थामा छोडिएको थियो ।
ट्रकहरुलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले भदौ १३ गते राति नै सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा गाईगोरु झारेको थियो ।
मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । गाईगोरु दैलेख पठाउन ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ, ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका छन् ।
गौहत्या प्रक्ररणमा अनुसन्धानमा तानिएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने मुद्दा नचलाउने निर्णय सरकारी वकीलको कार्यालयले गरेको छ ।
पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड गरेर ढुवानी गर्दा गाईगोरु निस्सासिएर, एकअर्काले कुल्चिएर मरेको अनुसन्धानको क्रममा भेटिएको छ । अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा पनि मृतक गाईगोरु चोटपटक लागेर मृत्यु भएका उल्लेख छ ।