मंगलबार, असार १७, २०८२

गाँस-बास माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको धर्ना

  
कर्णाली टाइम्स मंगलबार, फागुन ११, २०७७


सुर्खेत । खेतीयोग्य जमीनको माग गर्दै बादी समुदायका २ सय बढी मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । सोमबार रातिदेखि उनीहरु मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
दैलेख, कालिकोट र सुर्खेतका विभिन्न ठाउँबाट आएका उनीहरुले सुरक्षित आवास, खेतीयोग्य जमीन उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । दैलेखको रामाघाट, दुल्लु, डुंगेश्वर, भैरवी, गमौडी र कालिकोटको मान्मबाट १ सय १२ घरका ४ सय २ जना सुर्खेत आएका हुन् ।
सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म धर्ना जारी राख्ने दैलेखका प्रेम वादीले बताए । ‘हामी पुर्खादेखि नै अर्काको काम गर्ने र अरुकै गोठ सफा गरेर बस्यौं,’ उनले भने, ‘अब हामीलाई सरकारले सुरक्षित घरसहितको खेतीयोग्य जमीनको व्यवस्था गर्नुपर्छ, नत्र हामी धर्ना दिन छोड्दैनौँ ।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश बाहिर भएकाले उनीहरुले भेट्न पाएका छैनन् । यद्यपि कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने उनीहरुलाई मंगलबार बिहान भेटेका छन् । भेटमा उनले प्रदेश सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताए ।