शनिबार, बैशाख ८, २०८१

६५ माथिकालाई दोस्रो मात्रा असारमा

  
कर्णाली टाइम्स आइतवार, बैशाख १२, २०७८


सुर्खेत । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले असार पहिलो सातासम्म दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।

गत फागुन २३ देखि ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा ६५ वर्षमाथिकालाई दिइएको थियो । पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्छ । नेपालमा यो उमेर समूहको जनसंख्या करिब १७ लाख ९२ हजार छ ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले भने, ‘सिरमसँग खरिद गरेको र आपूर्ति हुन बाँकी रहेको १० लाख मात्रा खोपबाटै यो उमेर समूहका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ ।’ सिरमसँग सम्झौता भई नेपालले १० लाख मात्राको पनि रकम भुक्तानी गरिसकेकाले जेठ अन्तिम सातासम्म खोप आइपुग्ने मन्त्रालयको दाबी छ ।
यसअघि ६५ वर्षमाथिका ९ लाख ४४ हजार ४ सय ३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । यो संख्या जनसंख्याको ३.१२ प्रतिशत हो । हालसम्म नेपाललगायत विश्वका अन्य मुलुकमा पनि कोरोना संक्रमणको जटिलता, मृत्युको तथ्यांकअनुसार सबैभन्दा बढी यही उमेर समूह नै प्रभावित देखिन्छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार मुलुकमा हालसम्म संक्रमितमध्ये ७.७२ प्रतिशत ६५ वर्षमाथिका छन् । तर हालसम्म कोरोनाले ज्यान गुमाएकामा ५३ प्रतिशत हिस्सा ६५ वर्षमाथिकाको छ ।