शनिबार, जेष्ठ १, २०७८

कोरोना कहरमा प्रेस स्वतन्त्रा र पेशागत सुरक्षाको सवाल

  
कर्णाली टाइम्स सोमवार, बैशाख २०, २०७८
कलेन्द्र सेजुवाल

कोरोना महामारीको कारण कति पत्रकारको जागिर गुम्यो ? यो प्रश्नको अंकगणितीय जवाफ पाउन मुस्किल छ । तर नेपाल पत्रकार महासंघले २०७७ चैतदेखि सुरु भएको लकडाउनको कारण देशभर झण्डै ८ सय पत्रिका बन्द भएका विवरण संकलन गरेको थियो । संभवतः माथिको प्रश्नको अनुमानित जवाफ यस आकडाबाट पाउन सकिन्छ ।
नेपालमा नयाँ ‘भेरियन्ट’ (संस्करण) सहित कोरोना महामारीको दोस्रो लहर फेरि सुरु भएको छ । लामो समयको लकडाउन र सुरुवाती चरणको संक्रमणबाट बल्लतल्ल माथि उठ्न थालेको नेपाली मिडिया उद्योग फेरि थला पर्ने संकेत देखिएको छ । यसको सबैभन्दा बढी मार पर्ने भनेकै पत्रकारमाथि हो । नेपालमा कोरोना भित्रिएको एक वर्ष अवधिमा कान्तिपुर, नागरिक, अन्नपूर्णपोष्ट, नयाँ पत्रिकाजस्ता ठूला सञ्चारगृहले आफ्ना महत्वपूर्ण प्रकाशनहरु बन्द गरे । प्रकाशन बन्द हुँदा स्वाभाविक रुपमा त्यहाँ कार्यरत पत्रकारको रोजगारी पनि गुम्यो । प्रकाशनगृहमाथि कोरोना महामारीको प्रहार त्यतिमै सीमित रहेन, जेनतेन चलिरहेका प्रकाशन पनि निकै संकटमा परे । दैनिक न्यूनतम १६ पृष्ठ प्रकाशित हुने पत्रिका ८ पृष्ठमा झरे । विज्ञापन बजार प्रायः ठप्प भयो । यसबाट एकातिर सञ्चारगृह संकटमा परे भने अर्कोतिर पत्रकारहरु पेशागत रुपमा निकै असुरक्षित हुन पुगे । प्रकाशित भएको समाचारको आधारमा पारिश्रमिक लिने पत्रकार (स्ट्रिन्जर) थप मारमा परे । केही सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राखे भने केहीले खाइपाइ आएको तलब कटौती गरे । पत्रकारलाई समयमै तलब नदिने नेपाली सञ्चारगृहको परम्परागत समस्यामाथि कोरोना महामारी बहाना बन्यो । पत्रकारिताको लागिसमेत सबैभन्दा प्रतिकूल वातावरण रहेको कर्णाली प्रदेशको दृष्टान्त यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अनुसार लकडाउन अवधिमा दैनिक रुपमा प्रकाशित भइरहेका २५ पत्रिकामध्ये २४ वटा बन्द भए । करिब एक सयजना पत्रकार रोजगारीबाट प्रभावित भए । समग्र देशको पत्रकारिता कर्णालीको यो कहाली लाग्दो अवस्थाभन्दा फरक छैन । सहरी क्षेत्रमा डेरामा बसेर पत्रकारिताबाट आप्mनो र परिवारको जीवन धान्ने पत्रकारलाई परेको सकस अझ उदेक लाग्दो छ । कोरोनाको कारण पत्रकारको पेशागत जीवनमा परेको असरको तथ्यपरक अध्ययन हुनु अहिलेको आवश्यकता हो ।
प्रेस स्वतन्त्रतामा असर
पत्रकारमाथि भौतिक रुपमा आक्रमण वा अवरोध हुनुमात्र प्रेस स्वतन्त्रता हनन् होइन । कुनै पनि कारणले पत्रकारले निर्भयका साथ समाचार–कर्म गर्ने अवस्थामा बाधा हुनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । कोरोनाको कारण गरिएको लकडाउनको कारण एकातिर पत्रकारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्न पाएनन् भने अर्कोतिर आपूm कार्यरत सञ्चारगृहमा बसेर काम गर्ने अवसर पनि गुमाए । जागिर खोसिने डर–त्रासले पत्रकारले सम्पादकीय स्वतन्त्रता दाउमा राख्न बाध्य भए । नेपालमा सामान्य समयमा गरिने पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूती हुने पत्रकारिता अभ्यास संकुचित भयो । मालिकको रुचीविपरीतका सामग्री प्रकाशित भएमा कोरोनाको बहानामा जागिर खोसिने डरले मनोवैज्ञानिक त्रास दिइरह्यो । यसले पत्रकारमाथि ‘सेल्फ सेन्सरशीप’ को अवस्था सिर्जना ग¥यो । प्रेस स्वतन्त्रतामाथिको यस्तोखाले ‘सप्mट’ हस्तक्षेप अहिले पनि जारी छ । यसतर्फ संवेदनशील हुनुपर्ने बेला आएको छ ।
उसो त पत्रकारले लकडाउनको बेला सुरक्षाकर्मीबाट संकटकालको झल्को दिने गरी हस्तक्षेप पनि सामना गर्नुप¥यो । गृह मन्त्रालयले विशेषगरी मोफसलका पत्रकारको समस्यालाई ख्याल गर्दै सम्बन्धित सञ्चारमाध्यमको परिचयपत्रको आधारमा आवतजावत गर्ने प्रबन्ध मिलायो । स्थानीय स्तरमा भने सूचना विभागको परिचयपत्र नहुने पत्रकारलाई रिपोर्टिङको लागि हुने आवतजावतमा अवरोध गर्नेदेखि कुटपिट गर्नेसम्मका व्यवहार भए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अनुसार लकडाउनको बेला कर्णालीमा ८ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भए । कोरोनाको यस्तो भयावह अवस्थामा यो निकै दुःखद हो ।
अर्कोतर्फ कोरोना र त्यसबाट सिर्जित लकडाउनले पत्रकारलाई फिल्डमा गएर खोजमूलक स्टोरी गर्ने वातावरणमा बाधा पु¥यायो । कोरोना प्रतिकार्यको नाममा विशेषगरी सरकारी निकायमा चरम आर्थिक अनियमितता भयो । तर त्यसबारे स्थलगत रिपोर्टिङ गर्ने चुनौती चिर्नु पत्रकारको लागि निकै कठिन बन्यो । कोरोना कहर आर्थिक अनियमितता गर्ने र लुकाउने राम्रो बहाना बनिदियो । वास्तवमा एक असल पत्रकारको लागि अनियमिततासम्बन्धी सूचना पाएर पनि त्यसलाई बाहिर ल्याउन नसक्ने अवस्था सिर्जना हुनुभन्दा ठूलो प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप के हुन सक्छ र ? हुन त यस्तोखाले बाध्यात्मक हस्तक्षेपको सिकार नेपाली प्रेसमात्र नभई, समग्र विश्व प्रेस नै भएको छ । प्रेस स्वतन्त्रताका विभिन्न आयाममाथि चर्चा गरिरह“दा कोरोना महामारीबाट सिर्जित यो अवस्थालाई अलग राख्न मिल्दैन ।
बिकल्पको खोजी
कोरोनाले समस्यामात्र सिर्जना गरेन, नेपाली पत्रकारितामा दीर्घकालीन हितका केही बिकल्प पनि दिएको छ । थुप्रै पत्रकार आपूm कार्यरत सञ्चारमाध्यमबाट बेरोजगार बन्दा तिनीहरुले आप्mनै स्वामित्वमा अनलाइन सञ्चारमाध्यम चलाएका छन् । ती अनलाइनलाई व्यवस्थित तबरले व्यावसायिक रुपमा सञ्चालन गर्न सकिएमा कोरोनाकालमा खुलेका अनलाइनहरु भविष्यमा नेपाली समाजको लागि सूचनाको भरपर्दो सारथि बन्न सक्छन् । यसले एकातिर पत्रकारलाई स्वरोजगार बनाएको छ भने अर्कोतर्फ स्थानीय स्तरमा प्रभावकारी सूचना प्रदायकको भूमिका पनि निर्वाह गरिरहेको छ ।
विशेषगरी काठमाडौंबाट सञ्चालित राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु पछिल्लो समय आफै अनलाइन सञ्चालक बन्ने क्रम बढेको देखिन्छ । उनीहरुको लागि पत्रकारिताको आफ्नाो लामो अनुभवलाई सदुपयोग गर्ने अवसर पनि हो । राष्ट्रिय स्तरका ठूला सञ्चारगृहले संकटको बेला रित्तो हात घर फर्काइरहेका बेला पत्रकारलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने महत्वपूर्ण पाठ पनि सिकाएको छ । केही वर्ष अघिसम्म राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरु आर्थिक दृष्टिले समेत सम्पन्न हुन्छन् भन्ने मान्यता स्थापित थियो । कोरोना महामारीले उक्त मान्यतामाथि चुनौती दिएको छ । मिहिनेत, संघर्ष र उत्कृष्ट व्यावसायिक कर्म गरेको खण्डमा मोफसलमै बसेर आर्थिक र सामाजिक रुपमा सम्मानित हैसियत बनाउन सकिन्छ भन्ने स्वर्णिम अवसर कोरोनाले दिएको छ । यसलाई नेपाली पत्रकारिता क्षेत्रले गहन रुपमा ग्रहण गरेर नयाँ यात्रा तय गर्नुपर्ने बेला आएको छ ।
अब के गर्ने ?
कोरोना कहरको प्रभाव पत्रकारको पेशागत जीवनमा मात्र होइन, समग्र प्रेस स्वतन्त्रतामै परेको निर्विवाद छ । अन्ततः यसले नेपाली पत्रकारिता क्षेत्रलाई दीर्घकालसम्म अँध्यारो सुरुङमा पसाल्ने पनि कुरालाई पनि नजारअन्दाज गर्न मिल्दैन । नेपाल पत्रकार महासंघकै आकडलाई आधार मान्ने हो भने करिब १३ हजार पत्रकार नेपालको मिडिया उद्योगमा आश्रित छन् । उनीहरुमार्फत थप कम्तीमा ४० हजार व्यक्ति जीविकोपार्जनको हिसाबले पत्रकारितासँग जोडिएका छन् । यो निकै ठूलो जनसंख्या हो । यसलाई समेत ख्याल गरेर कोरोना कहरबाट परेको प्रभावबारे बहस गरिनु पर्दछ ।
कोरोना कहरको कारण सिर्जित प्रतिकूलताको प्रभाव र दीर्घकालीन असर अध्ययन गर्नु अहिलेको प्रमुख काम हो । अनुमानको भरमा गरिने प्रभाव मूल्यांकनको आधारमा सही योजना बनाई त्यसलाई कार्यान्वयन गर्न सकिँदैन । नेपाल सरकार, नेपाल पत्रकार महासंघ, सम्बन्धित सञ्चारगृह र सञ्चारसम्बद्ध अन्य निकायले गहन रुपमा प्रभाव अध्ययन गरेर त्यसबाट परेको त्यसलाई न्यूनीकरणको लागि विस्तृत कार्ययोजना बनाउनु पर्दछ । समस्यालाई समाधान गर्न तत्कालीक र दीर्घकालीन योजना बनाउन सकिन्छ । कसरी कार्यान्वयन गर्ने भन्नेबारे प्रभावकारी रणनीतिक योजना यसको महत्वपूर्ण पाटो बन्न सक्दछ । नेपाली पत्रकारिता क्षेत्रका सरोकारवालाले यसबारे समयमै सोचेर ठोस रुपमा काम अगाडि बढाउनु पर्दछ ।
(सेजुवाल नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष हुन्)