शुक्रबार, बैशाख ७, २०८१

सुर्खेतमा जारी निषेधाज्ञा वैशाख ३१ गतेसम्म थपियो

सुर्खेतसहित कर्णालीका सातवटा जिल्लामा निषेधाज्ञा जारी

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २१, २०७८


सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले वैशाख ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन जिल्ला सुरक्षा समितिमा सिफारिस गरेको छ ।
यस अनुसार नै सुरक्षा समितिले निर्णय गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘कोरोना संक्रमणको जोखिम झन् उच्च भएकाले वैशाख मसान्तसम्म निषेधाज्ञा थपिन्छ,’ उनले भने, ‘थपिएको समयमा झन् कडाई पनि हुनेछ ।’
यसअघि वैशाख १४ गतेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
कर्णाली प्रदेशका सुर्खेतसहित हाल ७ वटा जिल्लाहरुमा निषेधाज्ञा जारी छ ।
जाजरकोटमा १८ वैशाख गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । दैलेखमा २१ गतेदेखि २८ गतेसम्म, रुकुम पश्चिममा १९ गतेदेखि वैशाख ३१ गतेसम्म र सल्यानमा १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
कालिकोटमा १९ गते रातिदेखि २६ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यसैगरी हुम्लामा पनि आजदेखि साताका लागि निषेधाज्ञा जारी गरिएको छ । हवाई यात्रुमा कोरोना संक्रमण भेटिएपछि जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।