शुक्रबार, साउन १५, २०७८

कोभिड नियन्त्रणमा खटिएकाहरुलाई कर्णाली प्रदेश सरकारले दियो जोखिम भत्ता

  
कर्णाली टाइम्स मंगलबार, असार २९, २०७८
प्रतिकात्मक तस्विर

सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र सववाहन चालकका लागि भत्ता उपलब्ध गराएको छ।
सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, कर्णाली प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन र एम्बुलेन्स चालकलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको हो।
यसका लागि मन्त्रालयले तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको छ।
‘कोरोना महामारीमा खटिएका प्रदेशभरका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स तथा शवबाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि तीन करोड रुपैयाँ निकासा दिइएको छ,’ सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भने, ‘जोखिममा काम गरेका फ्रन्टलाइनरलाई सरकारले सधैं सम्मान र प्रोत्साहन गर्छ।’
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि चार लाख ८८ हजार ९१० रुपैयाँ निकासा गरिएको छ।
प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शबबहान चालकका लागि ३८ लाख ६१ हनार १५२ रुपैयाँ जोखिम भत्ताका लागि निकासा दिईएको छ।
यस्तै प्रदेश आयुर्वेद औषधालयलाई पाँच लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई ८ लाख ९३ हजार २४ रुपैयाँ दिईएको छ।
जिल्लामा रहेका स्वास्थ्य सेवा कार्यालयहरुमा सल्यानलाई ३५ लाख, जाजरकोटलाई २३ लाख ५५ हजार २९०, मुगुलाई ३१ लाख १९ हजार ११६, दैलेखलाई ५३ लाख ३८ १८०, रुकुम पश्चिमलाई १७ लाख ८ हजार ७७५, हुम्लालाई ३५ लाख ७ हजार ३०० र डोल्पालाई १५ लाख ४ हजार ६८० रुपैयाँ जोखिम भत्ताका लागि दिईएको मन्त्रालयले जनाएको छ।
‘कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शववाहन चालकहरुलाई प्रमाणित अभिलेखका आधारमा सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको छ । मन्त्रालयका सचिव काप्रीले भने।